सुदूरपश्चिममा बढ्यो सङ्क्रमण : सीमामा ज्वरो ननाप्दा गाउँ गाउँमा त्रास

◊ विमलबहादुर विष्ट
२६ जेठ, डोटी । भारतका विभिन्न क्षेत्रबाट पछिल्लो समय सुदूरपश्चिम भित्रिरहेका नागरिकको सीमा क्षेत्रमा ज्वरोसमेत परीक्षण नगरिँदा यहाँका गाउँ गाउँमा समस्या हुँदै आएको छ । यहाँका स्थानीय सरकारले निर्माण गरेका क्वारेन्टाइनमा राखिएकाहरुको हप्तौँदेखि कसैको पनि कोरोना परीक्षण त परै जाओस् जरोसमेत मापन गरिएको छैन । स्वास्थ्य परीक्षणबिना नै भारतीय सीमा क्षेत्रबाट नागरिक ल्याएर सिधै यहाँका क्वारेन्टिनमा राखिएका कारण अहिले गाउँमा कोरोना सङ्क्रमण फैलिएको भन्दै स्थानीयवासी आक्रोशित भएका छन् ।
डोटी जिल्लामा भारतबाट फर्किएर क्वारेन्टाइन बसेका १० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । त्यस्तै कैलालीमा ४७, अछाममा १५, कञ्चनपुरमा १३, बैतडीका ६, डडेल्धुरामा सात, बाजुरामा तीन, बझाङमा सात र दार्चुलामा एकजनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या दिनहुँ बढ्दो छ । सुदूरपश्चिम प्रदेशका चार नाका कैलालीको त्रिनगर, कञ्चनपुरको गड्डाचौकी, दार्चुलाको धार्चुला तथा बैतडीको झुलाघाट नाकाबाट एकहप्ताको अवधिमा ६० हजार ५३० जना सुदूरपश्चिमेली स्वदेश भित्रिएका छन् ।
भारतबाट भित्रिएकाहरुलाई यहाँका नौवटै जिल्लामा निर्माण गरिएका कूल एक हजार ६३९ क्वारेन्टिनमा राखिएको छ । नाममात्रका क्वारेन्टिनमा नागरिक राखिँदा सुदूरपश्चिममा कोरोना भाइरसको सङ्क्रमण दैनिक बढ्ने भन्दै यहाँका स्थानीयवासीमा त्रास फैलिएको दिपायल सिलगढी नगरपालिकाका पूर्व नगरप्रमुख घनश्याम पाठकले बताए । उनले भने, “स्वास्थ्य जाँचसमेत हुने गरेको छैन भने कतिपय ठाउँमा त पाल टाँगेर क्वारेन्टिन निर्माण गरिएका छन् । यस्तो अवस्थामा एकजनामा कोरोना सङ्क्रमण देखिए सबैलाई समस्या हुने निश्चितजस्तै छ । नाममात्रका क्वारेन्टिनको काम छैन ।”
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका वरिष्ठ प्रहरी उपरीक्षक मुकेशकुमार सिंहका अनुसार सुदूरपश्चिम भित्रिएकामध्ये ५१ हजार ९७० जना पुरुष र आठ हजार ५६० जना महिला रहेका छन् । उनका अनुसार सबैभन्दा बढी कैलालीमा १७ हजार ५२७ जना, कञ्चनपुरमा आठ हजार ३०४ तथा डोटीमा आठ हजार ९३१ जना रहेका छन् । त्यसैगरी भारतबाट भित्रिएका अन्य जिल्लामा अछाममा ६ हजार १८६, बैतडीमा पाँच हजार ६४५, डडेल्धुरामा चार हजार ६०८, बझाङमा तीन हजार २१०, बाजुरामा चार हजार ६३७, दार्चुलामा एक हजार ४८२ जना रहेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ । भारतबाट दैनिक हजारौँ नागरिक भित्रिएका कारण यहाँका क्वारेन्टिनमा राख्न निकै समस्या उत्पन्न हुँदै आएको छ । भारतबाट घर फर्किएका यहाँका नागरिक भारतका कोरोनाको जोखिम भएका शहर तथा क्षेत्रबाट फर्किएको देखिन्छ । यसका कारण पनि यहाँका स्थानीयवासीमा झन ठूलो त्रास फैलिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकार तथा यहाँका स्थानीय तहको पहलमा उनीहरुलाई सीमा क्षेत्रबाट नेपाल प्रवेश दिन थालिएपछि अहिले दैनिक सयौँको सङ्ख्यामा नागरिक घर आउन थालेको जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, “भारतमा रोजगार गर्ने नागरिक सीमा क्षेत्रमा आएर अलपत्र परेपछि प्रदेश सरकार र स्थानीय तहको पहलमा उनीहरुलाई घर आउन दिइएको छ । जसका कारण दैनिक हजारौँ नागरिक भित्रिन थालेका छन् ।” नागरिक भित्र्याउँदा सीमा क्षेत्रमा प्रदेश सरकारले कोरोनासम्बन्धी कुनै जाँच नगरेका कारण भारतबाट आएका नागरिकबाट अब कोरोनाको महामारी फैलिन सक्ने आशङ्कामा सुदूरपश्चिमेली नागरिकमा भने त्रास फैलिन थालेको हो ।
पछिल्लो समय यहाँका नौवटै जिल्लामा कोरोना महामारीका सङ्क्रमित देखिएका छन् । भारतीय सीमा क्षेत्रबाट उद्धार गरेर ल्याई यहाँका क्वारेन्टिनमा राखिएका नागरिकलाई चाँडो कोरोना जाँच गर्नुपर्ने स्थानीयवासीको माग रहेको छ । त्यसैगरी सुदूरपश्चिम प्रदेशका स्थानीय तहले निर्माण गरेका क्वारेन्टाइनमा राखिएका सातजनाको एकहप्ताको अवधिमा मृत्यु भइसकेको छ । सरकारी मापदण्डअनुसार क्वारेन्टाइनमा स्वास्थ्य उपचारलगायतका व्यवस्था नभएका कारण एक हप्तामा सातजनाको ज्यान गएको स्थानीयवासीको आरोप छ । भारतबाट आएका यहाँका नौवटै जिल्लाका ११० जना व्यक्तिमा कोरोना सङ्क्रमणको पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरका निर्देशक गुणराज अवस्थीले जानकारी दिए । कोरोना सङ्क्रमितमध्ये एकजना बाजुराका बालकको मृत्यु भएको छ भने ११ जना डिस्चार्ज भएका छन् । पाँचजना पुराना र ६ जना नयाँ व्यक्ति कोरोना जितेर घर फर्किसकेका छन् ।
गएको शुक्रबार मात्रै कोरोना जितेर घर फर्किनेहरुमा अछामको मेल्लेख गाउँपालिकाका ३२ वर्षीय पुरुष र ११ वर्षीया बालिका, बैतडीको शिवनाथ गाउँपालिका वडा नं १ का २० र २७ वर्षीय युवक तथा शिवनाथ गाउँपालिका वडा नं २ का २० र २२ वर्षीय युवकलाई डिस्चार्ज गरिएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । भारतबाट आएका डोटीका १० जना व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण छ भन्ने अन्य कतिजनामा सङ्क्रमण छ भन्ने जानकारी जतिसक्दो चाँडै लिन सबैको पिसिआर परीक्षण गर्नुपर्ने दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका बमबहादुर बोहराले बताए । उनले भने, “ठूलो सङ्ख्यामा एकैपटक हुल बाँधेरै मान्छेको उद्धार गरिएको छ, उनीहरुसँगै आएका कतिपय व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको पनि छ, अन्यलाई पनि चाँडो जाँच गर्न आवश्यक छ ।”
अहिले दिनहुँ सयौँ व्यक्तिलाई धमाधम उद्धार गरी सुदूरपश्चिम प्रदेशमा भित्र्याउने काम तीव्र गतिमा भइरहेको छ । भारतबाट पछिल्लो समय ल्याइएका व्यक्तिमा कोरोना पुष्टि भएकाले अन्यलाई सङ्क्रमण फैलिन नदिन यहाँका स्थानीय तहले ठोस मात्रामा सावधानी अपनाउनुपर्ने नेपाली काँग्रेस डोटीका क्षेत्रीय सभापति विजय खड्काले बताए। उनले भने, “उद्धारका नाममा हजारौँको सङ्ख्यमा मान्छे भित्र्याएरमात्रै हुँदैन, गाउँका क्वारेन्टाइनमा व्यवस्थित बनाउनाका साथै उनीहरुको अनिवार्यरुपमा कोरोना जाँच गर्नु पर्छ ।”
त्यस्तै जिल्ला अस्पतालमा व्यवस्थित आइसोलेशन रहेको भन्दै कोरोनाको अवस्था भयावह होला भनेर अहिले नै डराइहाल्नु पर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले बताए । उनले भने, “कोरोना सङ्क्रमणबाट जोगिन र फैलिन नदिन जिल्लामा सबै सुरक्षा प्रविधि अपनाउनाका साथै तयारी पनि गरिएको छ, आत्तिइहाल्नुपर्ने अवस्था आएको छैन ।” अब भारतबाट फर्किएकाहरुलाई स्थानीय सरकारले आफ्नै ठाउँमा रहेका क्वारेन्टाइनमा राख्नुपर्ने बताउँदै प्रजिअ पौडेलले आवश्यक स्वास्थ्य परीक्षण सामग्री अभाव भए जिल्ला र प्रदेशसँग समन्वय गरी उच्च सतर्कता अपनाउन सके बाँकी सङ्क्रमण रोक्न सकिने जानकारी दिए । जिल्लामा रहेका नौवटै स्थानीय तहले गम्भीर भई सरकारले बनाएको मापदण्डलाई प्राथमिकतामा राखेर काम गर्ने हो भने जिल्लामा कोरोना सङ्क्रमण फैलिनबाट रोक्न सकिने जिल्ला समन्वय समितिका संयोजक रामबहादुर ऐरले बताए। उनले भने, “सरकारी मापदण्डअनुसारका क्वारेन्टिन स्थापना गरी कोरोनाविरुद्ध सबैले एकजुट भए जिल्लामा कोरोना नियन्त्रण गर्न कुनै गाह्रो छैन ।”
यहाँका ग्रामीण क्षेत्रका क्वारेन्टिनमा राखिएका नागरिक आफूखुशी जथाभावी हिँडडुल गरिरहेकाले समस्या हुनसक्ने स्थानीयवासी बताउँछन् । यतिमात्र नभई सुदूरपश्चिम प्रदेशमा पाँच दिनसम्म पिसिआर परीक्षणका लागि ‘थ्रोट स्वाब’ सङ्कलन नगर्न निर्देशन गरिएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले गएको शुक्रबार एक सूचना जारी गर्दै पाँच दिनसम्म थप थ्रोट स्वाब नलिन मातहतका निकायलाई निर्देशनसहितको पत्राचार गरेको छ । सुदूरपश्चिम प्रदेशमा हाल एउटामात्रै ‘आरटिपिसिआर’ प्रयोगशाला रहेको र प्रयोगशालामा नौ जिल्लाबाट आएका हजारौँ किट स्वाब परीक्षण गर्न बाँकी रहेको र धेरै दिन स्वाब राखे बिग्रिने भएकाले पाँच दिनसम्म ‘थ्रोट स्वाब’ सङ्कलन नगर्न निर्देशन दिइएको क्षेत्रीय स्वास्थ्य निर्देशक गुणराज अवस्थीले बताए।
उनले भने, “हामीसँग भएको मेसिनको जाँच क्षमता जम्मा २५० मात्रै छ, एक हजार ८३ स्वाब परीक्षण गर्न बाँकी रहेकाले केही दिन स्वाब सङ्कलन कार्य रोकेर पुनः पठाउन सूचना जारी गरेका हौँ ।” प्रदेश स्वास्थ्य निर्देशनालयले ‘थ्रोट स्वाब’ सङ्कलन नगर्न निर्देशन दिएपछि यहाँका सबै जिल्लामा स्वाब’ सङ्कलन कार्य रोकिएको छ । ‘थ्रोट स्वाब’ सङ्कलन नगरिँदा भारतबाट आएका डोटीका आठ हजार १४३ जना समस्यामा परेका छन् । किट आएसँगै तीव्ररुपमा सञ्चालन भएको ‘थ्रोट स्वाब’ सङ्कलन कार्य रोक्न परिपत्र आएपछि समस्या भएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताए । उनले भने, “किट आएसँगै हामीले ‘थ्रोट स्वाब’ सङ्कलन गर्न गाउँ गाउँका क्वारेन्टाइनमा स्वास्थ्यकर्मीको टोली पठाएका थियौँ, रोक्नु भन्ने खबर आएपछि समस्या भएको छ ।” रासस

CHINA-SNOW SCENERY (CN)

World cyclist Baral rides on zipline

S.Korea reports 71,476 new COVID-19 cases

Del Mar Horse Racing

RUN-SPO-2022-USATF-OUTDOOR-CHAMPIONSHIPS

Downtown Beijing goes quiet as zero-Covid policy smothers capital

RSS General Manager Rai assumes office

Comment